नेपालमा
रहँदा चराको अनुसन्धान र पत्रकारिता सापकोटाका मुख्य काम थिए । नेपालमा


असाध्य रोग लागेर धेरैपल्ट मृत्युको मुखमा पुगेपछि फ्रान्सेली मित्रहरुको
सहयोगमा रोगको उपचार गर्न पेरिस पुगेका ददि सापकोटा अहिले पनि रातदिन
रोगसँग लड्छन्, रातभर काम गर्छन्, दिनभर साथीभाईलाई सहयोग गर्छन् र दुखले
कमाएको पैसा खर्च गरि कितावका लागि सामग्री बटुल्छन् सापकोटाले नेपालमा काम गरेर फर्केका
फ्रान्सेलीलाई भेटेर “त्यो नेपाल” भन्ने पुस्तक लेखेपछि सापकोटको चिनारी
लेखकका रुपमा पनि हुन थाल्यो । यो बर्ष सापकोटाको अर्को किताव प्रकाशन भयो
“दुखेको युरोप” । दुखेको युरोप पढ्दा यस्तो लाग्छ, नेपालीहरु दुख पाउनकै
लागि जन्मेका हुन्, नेपाल गए कपालसँगै बर्मा गए कर्मसँगै भने जस्तै गरि ।
दुखेको युरोप लेख्दा सापकोटा आफैले भोगेका सास्ती पढ्दा धेरै मानिसको मन
सिरिंग हुन्छ । कसरी लेखियो त दुखेको युरोप र कस्ता दुख पाए यो किताव
लेख्दा लेखकले ? ददि सापकोटाकै शब्दमा प्रस्तुत छ “सास्तीको खोजी” ।सम्झना छैन, मिति त ठ्याक्कै । तर,
पेरिसको एक कार्यक्रममा एकजना मित्रले अर्का एकजनाका बारेमा सुनाए, “उहाँ
पाँच–छ महिना लगाएर रुस हुँदै आउनुभएको ! बाटैमा मर्यो भन्ने खबर घर
पुगेको रहेछ । जङ्गली जनावरको मुख र डाँकाबाट छलिएर धन्न–धन्न बाँचेर
आइपुग्नुभयो” दिनभरिको कामले थकित हली झैं ती किशोर मेरै अगाडि उभिएका थिए ।
अचम्म लाग्यो– के यस्तरी पनि नेपालीहरु यूरोप आउँछन् र रहँदै बस्दै जाँदा यस्ता अनेक कहानीहरु
भुक्तभोगीकै मुखबाट सुनेँ । अन्य नेपालीले पनि सुनाउँदै गए । अफ्रिकाबाट
भू–मध्यसागरको करीब १६ किलोमिटर दूरी पौडी खेलेरै यूरोप छिर्न जोखिम लिने
अफ्रिकीबारे केही कहानी त फ्रान्सेलीले पनि सुनाएकै थिए । पछि थाहा भयो,
यस्ता अनेक कष्ट भोगेर यूरोप मात्रै होइन; जापान, अमेरिकालगायत धेरै मुलुक
टेकिसकेका रहेछन् नेपालीले दलालले लाखौं ठगेका । कुखुरा,
खसी–बोकासितै ट्रकमा लुकेर यूरोप पसेका । आवासीय र काम गर्ने वैधानिक भिसा
नहुनाले लुकेर काम गर्दा साहुले तलब नदिइकनै लघारेका । यता कागज
कुर्दाकुर्दै उता नेपालमा श्रीमतीले अर्को विवाह गरेका । उता आफ्नी
श्रीमती, छोराछोरीको बेवास्ता गरेर यतै विदेशीसित घरजम गरेका । खाने पैसो
नभएर केही दिनदेखि भोकै यूरोपका सडकमा भौँतारिएका ।काग
पनि काम्ने पुस–माघको जाडोमा सुत्ने र बस्ने थलो नपाएर रेल स्टेशनमा उङ्दै
रात कटाएका । पार्कमा स्याउला ओडेर सुतेका । यसो हुँदाहुँदै पनि उता
नेपालबाट ‘यूरोप त स्वर्गै हो, बाटैमा टप्प टप्प पैसा टिप्न पाइन्छ’ भन्दै
घरबारी बन्धकी राखेर, भएको पसल बेचेर, पत्नीका गरगहना बाँडालाई दिएर यूरोप
आउने नेपालीलाई यूरोपको सास्तिबारे पटक्कै हेक्का नभएको । ओहो ! यस्ता
दर्दनाक कथा भोग्दै यूरोपभरि छरिएका नेपाली कति रहेछन् कति ! यस्ता कुरा
चाल पाएपछि मलाई लाग्यो–यसबारेमा पुस्तक लेखेर नेपालीलाई सजग र सतर्क
गराउनुपर्छ पेरिसमा मन छुने कहानी बोकेका नेपाली
को–को छन् भनेर छड्के तरिकाले बुझेँ । बाहिर–बाहिर त कहानी धेरै नै सुनियो ।
आफ्नो कहानी भन्छन् कि भनेर एक दुईजना मित्रलाई लगाएँ । पीडितका आफन्त,
निकटस्थ र भनेको लाग्ने खाले मानिसलाई लगाउँदा कहानी लिन सफल भइएला भन्ने
अपेक्षाले त्यो तरिका अपनाएको थिएँ । तर केही महिना कोसिस गर्दा पनि सकिएन ।
“आ... सर खाटा बसेको घाउ के कोट्याउने अब ? तपाईलाई भनेर के हुन्छ र !
आफूले दुःख पाउने पाइहालियो, अब यो दुःख सुनाएर दुनियाँ के हँसाउनु ?”
व्यक्तिपिच्छे यस्तै खाले फरक फरक प्रतिक्रिया पाइए । कोही त यसरी कटु
वाणीमा नै प्रस्तुत भए, “मेरो दुःखको कहानी लेखेर तपाईँ किताब बेच्ने ?
अर्काको पीडा लेखेर दुनियाँलाई हँसाउने ?” त्यसरी हाकाहाकी सिधै
अन्तर्वार्ताको शैलीमा काम नहुने रहेछ कि भन्ने लागेपछि मैले फरक विधि
अपनाउन खोजेँ सकेसम्म फरक घटना खोज्ने; सम्बन्धित पीडित
व्यक्तिसँग सम्पर्क गरेर सोधिहाल्नुको सट्टा बाहिरैबाट पीडितका निकट
व्यक्तिहरुबाट सुन्ने र तिनलाई निबन्ध, डायरी वा उपन्यासको रुपमा लेख्ने ।
घटना सुन्दै, बुझ्दै थिएँ । अष्ट्रियाको भियनास्थित एक विश्वविद्यालयमा
वनविज्ञान पढ्दै गरेकी बहिनी वासना सापकोटा पेरिस घुम्न आइन् । आफ्नो योजना
सुनाएर उनलाई पनि त्यहाँका पीडितका केही घटना बताउन भनेँ । उनले भनिन्–
“यस्ता घटना त कति पाइन्छन्, कति । जर्मनी, हङ्गेरी र अष्ट्रियामा त मै
खोजिदिन्छु । हाकाहाकी भन्छन् । उनीहरुको फोटो नै छापे पनि हुन्छ ।” उनी
फर्केपछि ताकेता गरेँ । उनले भियनामा शिव सापकोटासित कुरो गरिछन् । त्यसपछि
अन्य केही पीडितले पनि हाकाहाकी आफ्ना कथा सुनाउने मेसो उनैका मित्र
मार्फत मिलाइछिन् । अष्ट्रियामा त मिल्यो, यूरोपका बाँकी देशका लागि के
गर्ने होला भन्ने लाग्यो । अर्को मनले भन्यो– “अब काम थाल्नुपर्छ । जोखिम
नउठाई गतिलो काम गर्नै सकिन्न । सजिलो त जसले पनि गरिहाल्छ नि बसको टिकट किनें । करिब ३५ घण्टाको
यात्रापछि भियना उत्रिएकै दिन शिव सापकोटासित अन्तर्वार्ता गरें ।
सापकोटालाई वासनाले आफ्नै डेरामा बोलाइन् । शिव सापकोटाले आफ्ना दुःखका
कहानी सुनाउँदै गर्दा त्यहीँ उभिएका केही बहिनीहरु रुँदै उठेर हिँडे>त्यहाँबाट हङ्गेरीका गैरआवासीय नेपाली संघ
(एनआरएन) का अध्यक्ष सुरेन्द्र श्रेष्ठजीले नेपाललाई माया गर्ने एक
हङ्गेरियाली र नेपाली पासपोर्टको अभावमा उपचार नपाएर झण्डै आफ्नो छोरो
गुमाउनुपरेको पीडा भोगेकी पुष्पा तामाङसित भेट गराए । अर्को दिन फेरि
चिरञ्जिबी खड्कामार्फत २२ वर्षदेखि वैधानिक कागजको पर्खाइमा नेपाल नगई
बसेका दभिन गुरुङ, झण्डै वर्ष दिन लगाएर यूरोप छिरेका विनोद खड्कासित
अन्तर्वार्ता गरें । पीडित नेपालीसितको भेटघाट अगाडि बढ्दै गयो यसरी पुस्तकमा भएका कहानीहरु सबै
प्रत्यक्ष भोग्नेहरुका विवरण हुन् । तिनले जस्तो सुनाए, मैले त्यसलाई
उतारेर पस्केको छु । केही पात्रहरुले आफ्नो वास्तविक नाम र तस्विर
नराखिदिने शर्तमा कहानी सुनाएकाले तिनको नाम बदलिएको छ । त्यसको जानकारी
पाठकलाई दिइएको छ । अन्तर्वार्ताका सबै अडियोहरु मसित सुरक्षित छन् ।
तिनलाई अध्ययन र अनुसन्धानका लागि व्यवस्थित गरेर अभिलेखका रुपमा कतै
सुरक्षित गरिनेछ अरुसित खरर आफ्ना सास्तीका बेलिविस्तार
लगााउनेहरु पनि ‘यो पत्रकार हो वा लेखक हो’ भन्ने जानेपछि तर्कन खोज्थे ।
कोही अनौपचारिक भेटघाट, भोज, जमघटमा सुनाइसकेपछि ‘लेखिदिनुस् है’ भन्थे ।
खोजी जारी राखें । पीडितलाई सहयोग दिएका, सँगै बसेका, निकटस्थ व्यक्तिहरु
खोजेर कुरो बुझाउन लगाएँमैले अन्तर्वार्ता गरेकामध्ये केही
नेपालीले यहाँको स्थायी बसोबासको अनुमति पाएको वषौँ भैसकेको थियो । उनीहरु
विगत कोट्याउन चाहन्नथे । दुःखको वास्तविकता खोल्दा प्रतिष्ठामा आँच आउला,
शत्रु हाँस्लान्, अरुले खुच्चिङ् गर्लान् भनेर तर्किने पनि उत्तिकै भेटिए ।
धेरै त ‘त्यो सुनाएर मैले के पाउँछु ?’ भन्ने भेटिए । सम्बन्धित देशको
वैधानिक कागज नपाउनेहरुले भने कागजका लागि ढाँटेर आवेदन दिएका हुने हुनाले
सत्य कुरो पुस्तकमा आयो भने यहाँको सरकारले थाहा पाउला र कागज बनाउन
प्रक्रिया बिग्रेला भनेर पनि तर्सिन्थे । सकभर आफ्ना कठिनाइ, दुःख र व्यथा
लुकाउने मानसिकताले गर्दा पनि नेपालीले भोगेका यस्ता दुःख र पीडाका कहानी
बटुल्न सहज भएन कतिपय नेपालीले त जानीजानी धोका दिए ।
प्रसङ्ग बेल्जियमको हो । त्यहाँका मित्र विष्णु भुजेलले त्यहाँ यस्तै
दुःखका अनुभव सँगालेका दुई नेपालीसित भेटघाट निश्चित गरेको खबर दिए । म
बेल्जियमको आन्तर्पेन शहरको बस बिसौनीमा पुगेँ । तर, अन्तर्वार्ता गर्ने
भनिएकै बिहान एक्कासी फोन गरेर ‘विष्णुजी, अब जे भो–भो, खाटा लागेको घाउ
नकोट्याउँ’ भनिदिएछन् । म बसबाट ओर्लिनासाथ विष्णुजीले त्यो खबर सुनाउँदा
मन खिन्न भयोबेल्जियममा मैले धोका पाउनु त्यति मात्रै
रहेनछ । अर्को पटक साथी शेरबहादुर छन्त्यालले अर्का एक नेपालीसित भेटघाट
मिलाए । यूरोप छिर्ने क्रममा प्रहरी प्रशासन र सीमारक्षकका आँखा छल्दै
हिमालको बाटो भएर आएका र बाटो बिराएर खाने कुरो केही नपाएपछि घाँस खाएको
कथा चर्चा रहेछ, ती नेपालीसित । साँझ ६ बजे भेट्ने समय दिए । हामी
आन्तर्पेन शहरमा पर्खेर बस्यौं । उनी आइपुगेनन् । फोन गर्यौँ ।
बजे आउने बताए । ७ पछि ८, ९ गर्दै मध्य–रात भयो । कुरिराख्यौं । ‘म आउँछु,
धन्दा नमान्नुस्’ भन्दै थिए । राती साढे १२ बजेपछि उनले फोन अफ गरे ।
आएनन् । मेरो बेल्जियम यात्रा त्यसपटक पनि बेफ्वाँकमा बित्यो । हिम्मत
हार्न मन लागेन । यूरोपमा बेलायतपछि धेरै नेपाली बस्ने देश भएकोले यो
देशलाई समेट्न नसके त असफल नै भइन्छ भन्ने लाग्यो । दिक्क लागेपछि पत्रकार
मित्र सन्तोष न्यौपानेलाई फोन गरेर सुनाएँ । सन्तोषले ‘एक्कैछिनमा कल गर्छु
है’ भन्दै फोन राखे । नभन्दै केही बेरमै भने, “ददीजी, ल एक जना मेरा हजुर
बा पर्ने छन् । उनले असाध्यै दुःख भोगेका छन् । राजालाई बिन्तीपत्र हाल्ने
भनेर पनि चिनिन्छन् । उहाँ टाढा बस्नुहुन्छ । जाऊँ सन्तोससँग उहाँको घरमा पुग्दा झन्डै
सुत्ने बेला हुन लागिसकेको थियो । तैपनि तुरुन्तै कुरा गर्न बसियो । कहानी
सुन्दा सुन्दै राति १२ बज्न लाग्यो । उहाकी पत्नी ‘बेलैमा सुत्नुहोला है,
भोलि बिहानै काममा जानु छ्’ भन्दै सुत्न गइन् । हामी बोलेको सुनेर केही
बेरमा आएर फेरि भनिन्, ‘अब सुत्नुस्, नत्र भोलि उठ्न सकिन्न’ । त्यतिबेला
हाम्रो कुराकानी बल्ल जम्दै थियो । मैले सन्तोषलाई भित्ताको घडीको सुई दुई
घण्टा पछाडि घुमाइदिन इशारा गरेँ । बुढा चर्पी हानिएको बेला सन्तोषले घडी
घुमाइदिए । पछि हामीले नै भन्यौं ‘किन आत्तिनुभाको ? १२ पनि बज्या छैन,
सुतौँला नि !’ अनि उनी कस्सिएर बोल्न थाले । उनका रोचक र मन छुने कहानी
सुनिसकेर सन्तोष र म एउटा बिस्तारामा पल्टियौं । निद्रा परेन । बिहान घडीको
अलार्म सुनियो । हामी पनि उठ्यौं र चिया पिएर बाटो लाग्यौँ । हामीले घडी
उल्टो घुमाइदिएको उनीहरुले पत्तै पाएनन् अन्तर्वार्ता गर्ने कोही नपाएर दिक्क
लागेका बेला मैले चिनेका जति सबैसित मान्छे खोज्न आग्रह गरेँ । त्यही बेला
गोरखाका कृष्ण अधिकारीले फेला पारे– विष्णु गौतम । सन्तोष र म बिहानै
ब्रसेल्स फर्कियौँ । विष्णुसित भेट्ने समय दिउँसो ३ बजे थियो । केहिबेर
साईबर र केहि बेर रेल स्टेशनमा ओहोरदोहोर गर्ने मानिसका चर्तकिला हेरेर समय
कटाएपछि विष्णु गौतमलाई भेट्न गएँ । उनीसित कुराकानी भयो । बेल्जियममा
नेपालीसित लिएका अन्तर्वार्ताले मन अझै सन्तुष्ट भएको थिएन । अरु नेपाली
पनि भेटिन्छन् कि भनेर खोज्दै थिएँ । युवराज गुरुङले एक जना महिलाको घटना
सुनाए, सुमित्रा घिमिरे सापकोटा । उनका पीडा सुन्दा जीउ नै सिरिङ्ग
हुन्थ्यो । फ्रान्समा बस्ने मेरा लागि यूरोपभरि छरिएका पात्रहरुसँगको
पहुँच कठिनाईको ठूलो पहाड थियो । मैले मेरो समय मिलाएर मात्रै
हुँदैन्थ्यो, उता सहयोगी साथीको समय पनि मिलाउनुपथ्र्योे । अनि मुख्यतः
छनोटमा परेका पात्रहरुको समय अनुसार आफू उपलब्ध हुनुपर्दथ्यो । बस्ने कहाँ ?
खाने कहाँ ? खर्चको गाह्रो साह्रो त छँदै थियो ।
खास गरी पात्रहरुको समयको अभाव र अनेक
प्रतिकूलताले गर्दा पनि सबै पात्रसित निर्धक्कसित भलाकुसारी गर्न पाइएन ।
कतिपय अवस्थामा बस र रेल स्टेशन, पार्क र बाटैमा पनि भेट गर्नुपर्यो । ती
सबै सीमा र कठिनाइलाई क्रमशः पार लगाउँदै यो पुस्तक तयार भएको छ । यस्ता
विविध सीमाका कारणले पनि पुस्तकमा कतिपय कमीहरु भेटिएलान् । ती दुर्बलताको
लागि म सहर्ष जिम्मेवारी स्वीकार गर्दछु ।
आफ्नै सास्ती र अनुभूति
यो पुस्तक लेख्दा मैले अनेकौं दुःख र
सास्ती भोगें । बेल्जियम जाँदा बसभित्रै रगत र पानी छादेर दुइटा झोला भरिए ।
बसपार्कमा ओर्लनासाथ साथी शेरबहादुरले मेरो हालत देखेर डराउँदै क्लिनिकमा
पुर्याए । औषधि मगाएर मेरा झोला बोक्दै घरमा पुर्याए । फेरि पनि छादेको
देखेपछि उनकी पत्नीले भान्छाकोठामा भनेको सुनें “अस्पत्ताल लैजाऊँ सरलाई ।
तलमाथि भयो भने त गाह्रो होला नि !” बेल्जियममा अन्तर्वार्ता गर्न गएकै
अघिल्लो दिन भिसा कार्ड, बसको टिकट, वीमा कार्ड सबै चोरिएर म बेखर्ची बनेको
थिएँ । उनै शेरबहादुरले खर्च व्यहोरिदिएपछि पेरिस फर्कन पाएँ
डेनमार्कमा अन्तर्वार्ता सकिएपछि सोम
सापकोटाले विमानस्थल आउने रेल चढाइदिए । अब घर पुगिहालिन्छ नि भनेर भएभरको
सबै पैसा खर्च गरिसकिएको थियो तर पेरिसको विमानस्थलका कर्मचारीको हड्ताल
रहेछ । कुनै पनि विमान उड्न र अवतरण गर्न नदिएकाले सबै उडान रद्द भएका
रहेछन् । मेरो टिकट नन रिफन्डेबल, नन चेन्जेबल (मिति सार्न पनि नमिल्ने र
पैसो फिर्ता पनि नपाइने) खालको भएकाले हजारौं अरु यात्रुसँगै म पनि अलपत्र
परें । सोम त्यसै दिन स्विडेन हिँडे । उनीसित सम्पर्क हुने कुरै भएन । मेरा
अर्का सहयोगी हेम अर्याल जागिरमा गैसकेका रहेछन्फोन गर्दा दुबै जनासित सम्पर्क भएन । मैले
सहयोग पाउने अरु कसैसित सम्पर्क थिएन । अर्को टिकट काट्ने पैसो थिएन ।
कहाँ बस्ने ? कसरी अर्को टिकट किनेर फर्किने ? आपत पर्यो । अबेरसम्म
विमानस्थलमै बसेँ । मानिस पातलिएपछि एयर फ्रान्स (फ्रान्सेली विमान कम्पनी)
को डेस्कमा गएर विलौना पोखेँ । त्यहाँ फ्रान्सेली भाषा जान्नुको फाइदा भयो
। मलाई कसो–कसो चारतारे होटेलमा बस्ने, खाने र भोलिपल्ट विमानस्थलसम्म
आउने ट्याक्सीको समेत व्यवस्था गरिदिए त्यस्तै बिर्सिनसक्नुको यात्रा भयो–
पोर्चुगलको । जाँदा विमानका कर्मचारीले राम्रोसित परिचय–पत्र नै हेरेनछन् ।
त्यसको म्याद सकिइसकेको रहेछ । काम सकेर फर्किन लाग्दा विमानस्थलका
कर्मचारीले ‘परिचय–पत्रको म्याद सकिएको छ, उड्न मिल्दैन’ भनिदिए । तत्कालै
त्यहाँ आवासीय कार्ड नवीकरण गर्न मिल्ने कुरै भएन । विमानको टिकट माया
मारेर म करिब ३६ घण्टाको बस यात्रा गरेर स्पेनको बाटो हुँदै फ्रान्स
फर्किएँ । लक्जम्बर्गमा अन्तर्वार्ता गर्न जाँदा फोन लिएको थिइनँ । ४ बजे
रेल स्टेशनमा नारायण गुरुङ दाइले लिन आउँछु भने । तर, रेलको लिकमा प्रविधिक
समस्या भएर मेरो रेल करिब एक घण्टा ढिलो भयो । उनी केही बेर पर्खिएर ‘अरु
कसैसित गएको होला’ भन्ने सोच्दै बाटो लागेछन् । रेल स्टेशनमा उत्रिएँ ।
जाने कता हो थाहा थिएन, न त सम्पर्क गर्नका लागि मोबाइल नै थियो । उनको
रेस्टुरेन्ट छ भन्ने जानकारी थियो तर ठेगानाको पत्तो थिएन >सम्पर्क गर्न साइबरक्याफे पनि हत्तपत्त
नपाइने रहेछ– लक्जमबर्गमा । कोठा भाडा महँगो भएकोले साइबरक्याफे खोलेर
चलाउनै नसक्ने रहेछन् । वैधानिक कागज नभएका मानिस र आप्रवासीहरु कम भएकाले
साइबरक्याफे पनि त्यत्ति नचल्ने रहेछन् । झमझम परिरहेको पानीमा करिब एक
दर्जन गल्ली हिँडेँ– नेपाली रेस्टुरेन्ट पत्ता लगाउन भनेर । अन्तिममा एउटा
रेस्टुरेन्ट फेला परेपछि ठुकठुक काम्दै पक्कै यही हुनुपर्छ भन्ने अनुमानले
त्यसैको अगाडि कुरेँ । हो रहेछ । केही बेरमा रेस्टुरेन्ट खोल्न एकजना
कर्मचारी आइपुगे । तर, दुःख खेर गयो किनकि त्यहाँ मेरो कामका लागि कुनै
नेपाली फेला परेन जर्मनीमा त झन लाइपजिख भन्ने ठाउँमा जानु
थियो । अनेक कोसिस गर्दा अन्यत्र नमिलेपछि त्यहाँ अध्ययन गर्दै रहेका मित्र
नेत्रप्रसाद पौडेलले एक जना नेपालीसित भेटघाटको व्यवस्था मिलाएका थिए ।
छोटो समयमा यात्रा तय गर्नुपर्ने भएकोले बर्लिनसम्म जाने बसको टिकट लिएँ ।
त्यहाँबाट लाइपजिखका लागि फेरि अर्काे डेढ सय किलोमिटर जति उत्तर
जानुपर्थ्यो । जाडो बेजोड थियो । बर्लिनमा उत्रिएर फेरि अर्को रेल चढ्न
मेट्रो चढ्नुपर्ने रहेछ त्यो डिसेम्बरको तापक्रम जर्मनीको
इतिहासमै अति जाडो मानिएको माईनस २० डिग्री सेल्सियस जति थियो । कक्रक्क
हुँदै रेल स्टेशन त पुगेँ तर त्यहाँबाट टिकट एक्लै किन्दा निकै महँगो पर्ने
रहेछ । सप्ताहान्तमा पारिवारिक टिकट पाइने रहेछ । त्यतिखेर जर्मनहरुले
सस्तोमा किनेर पाँच जनासम्म जान मिल्ने त्यो पारिवारिक टिकट अरुलाई बेच्ने
रहेछन् । त्यसको लागि किन्ने व्यक्तिसितै यात्रा गर्नुपर्ने रहेछ । त्यस्तो
टिकट नेत्रजीले एकजना जर्मनसित इन्टरनेटबाटै मिलाएका थिए । टिकट लिनेले
मलाई ‘रेलको अघिल्लो भागतिर बस्नु, म त्यहीँ आउँछु’ भनेकोले करीब तीन घण्टा
उभिएँ । जाडोले घुँडा नै फुक्लेला झैं भएपछि ऊ बल्ल मुस्कुराउँदै आयो अनि
रेल चढियो । अन्तर्वार्ता गरेर फर्किंदा फेरि नेत्रजीले त्यसैगरी बर्लिन
आउने सस्तो ट्याक्सी खोजिदिए र त्यहाँबाट बस समातेँ । बस कुर्दा फेरि
दुई–तीन घण्टा त्यही ठण्डीमा सेकिनुपर्यो । तीन–चार दिनको अनिँदो, भोको
पेट र धपेडीले पेरिस फर्किना साथ बिरामी परेँअष्ट्रियाको भियनामा झन बढी दुःख पाइयो ।
अघिल्लो आधा दिन र पूरा एक रातभरिको बस यात्रा । बिहान नसुती शिव
सापकोटासित अन्तर्वार्ता गरियो । त्यसको लगत्तै अर्को भेटघाट थियो ।
भोलिपल्ट बिहानै अन्तर्वार्ता गर्न लैजाने भनिएका चिरञ्जीवी खड्का मलाई लिन
एउटा मेट्रो स्टेशनमा आउने भने । म बिहान आँखा मिच्दै पुगेँ । उनी
झुल्किएनन् । उनको मोबाइलमा पनि कुरा हुन सकेन । मेट्रो स्टेशनबाहिरको
चिसोमा करिब दुई घण्टा कुरेपछि आए र कोठामा लगे । त्यहाँ जाँदा पो बल्ल
थाहा भयो, अन्तर्वार्ता गर्ने भनिएका पात्रसित त उनले एकपटक पनि कुरा गरेकै
रहेनछन् । म उनको कोठामा पुगेपछि पो बल्ल सोधखोज गर्न लागे । ‘अब मिलेन
भने के गर्ने होला भन्ने सोचले मलाई पोल्न थाल्यो । उनीहरु भने ढुक्कै
देखिन्थेदशैंको त्यो बेलामा उनीहरुले खाना र मासु
बनाए, खाए, तास खेले । एकैचोटी साँझ दभिन गुरुङलाई भेट्न भनेर एउटा नेपाली
रेस्टुरेन्टमा लिएर गए । त्यहाँ दभिनसित कुरा गरियो । वरिपरि टन्न
नेपालीहरु भएको रेस्टुरेन्टमा म विषयबस्तुमा केन्द्रित हुन खोज्थें तर
वरिपरिका नेपालीहरु प्रसङ्गबाहिरका कुरा झिकेर विषय अन्तै मोडिदिन्थे ।
तैपनि चिरञ्जीवीजीको सहयोगमा दभिनका दर्दनाक कहानी सुनियो । फेरि अर्को
ठाउँमा जानु छ भनेर हामी करिब १० बजेतिर दभिन गुरुङसहितका नेपालीलाई त्यहीँ
छोडेर हिँड्यौ । मैले अन्तर्वार्ता गर्ने भनिएका विनोद खड्का एउटा रेल
स्टेशनमा राती ११ बजेतिर झुल्किए । कहाँ बस्ने ? पार्कमा गएर गफ गर्न
थालियो । संयोग कस्तो परेछ भने त्यहि रात पार्कको सार्वजनिक शौचालयका
ट्यांकी सफा गदै रहेछन् । नाकै उडाउला जस्तो गन्धले टाउको दुखाएपछि
चिरञ्जीवीजी केही बेरमा आउने बताएर हिँडे । मैले विनोदजीलाई ‘तपाईले केही
बेर दुःख व्यहोर्दा धेरै नेपालीलाई शिक्षा मिल्छ्’ भन्दै उभिई–उभिई कुरा
सुनाउन लगाएँ अन्तर्वार्ता सकिएपछि मलाई मेट्रोमा
हालिदिएर चिरञ्जीवी र विनोद आ–आफ्नो बाटो लागे । उनीहरुसित छुटिसकेपछि
बीचमा मेट्रो बदल्नुपर्ने थियो । राती ढिलो भएकाले त्यो मेट्रो बन्द भैसकेछ
। फसाद पर्यो । बासना बहिनीको होस्टेलको ठेगानासम्म पनि मसित थिएन ।
बिहानै निस्किएकाले बेलैमा फर्किइएला नि त भनेर १० युरो मात्रै बोकेर
हिँडेको थिएँ । गोजीमा फोन थिएन । यस्तो अवस्थामा मेट्रो नचलेपछि कसरी जाने
? ट्याक्सी चढे पनि पैसा नपुग्ला । बसको आशा गर्दा गर्दै झन ढिलो भयो ।
धेरै ट्याक्सीलाई विन्ती गरें । बल्लबल्ल एकजना टर्कीको ट्याक्सीवालाले १०
युरोमा लग्न मान्यो । उसले लगेर होस्टेलको गेटमा त छोडिदियो । तर, भित्र
कसरी पस्ने ? आफूसित चाबी थिएन । भूइँबाट चिच्याएर माथि कोठामा बस्नेले
सुन्ने होइन । भित्र पस्ने केही विद्यार्थीलाई आग्रह गरेँ । करिब एक
घण्टासम्म भित्र छिर्न पाइएन । एकातिर अन्तर्वार्ता गर्ने कामले नै फूर्सद
नभएर र उता बहिनीहरु पनि भोकै कुरेर बसेका होलान् भन्ने ठानेर केही
नखाएकोले आन्द्रा झुत्ती खेल्दै थिएबल्लतल्ल एक जना अफ्रिकी विद्यार्थीले
भित्र छिर्न दियो । कोठामा बहिनीहरु मेरो चिन्ता गर्दै बसेका रहेछन् ।
चाउचाउ उमालेर निलियो र सुतियो त्यस रात । भोलिपल्ट हङ्गेरी हानिएँ ।
प्रेमीबाट केही साताअघि बिछोडिएकी हङ्गेरियन आनेस्थे सियासित रेलमा गफ
हुँदाहुँदै प्रेम–प्रस्ताव गरिन् । बुद्ध जन्मेको र विश्वको सर्वाेच्च शिखर
भएको देशको नागरिक भेट्न उनी त्यस्तरी खरिएकि रहिछन् । ‘मलाई फोन गर है’
भन्दै उसलाई गलत नम्बर दिएर छड्किनु पर्यो । हङ्गेरीमा ददि सापकोटा भन्ने
नाम कुनै महिलाको होला भन्ने ठानेर एक जना महिलासित बस्ने व्यवस्था
मिलाइएको र म पुरुष रहेछु भन्ने कुरा देखेपछि मात्रै थाहा पाएको कुरा
सुरेन्द्रजीले पछि बताउँदा ठूलो हाँसोको विषय बन्यो ।खाई–नखाई भियनाको दगुरादगुर । लगत्तै
अकस्मात हङ्गेरी । दिनरातको धपेडी र दौडधुपले असाध्यै थाकेँछु । बस, रेल वा
विमान कुनै पनि यात्रामा कहिल्यै ननिदाउने मान्छे भए पनि भियना फर्किने
बेलामा त म रेलमै निदाएँछु । लेख्दालेख्दैको डायरी भुइँमा खसेको पत्तै भएन ।
भियना र हङ्गेरी यात्राका क्रममा लेखेको ३५ पृष्ठको डायरी हराएर दुःखी
हुँदै फर्किएँ र फ्रान्स आएपछि फेरि बिरामी परेँ । यसरी अनेक सास्ती भोग्दै
पुस्तक लेख्ने क्रममा मैले यस्ता धेरै दुःख र अनुभूति बटुलेको छु युरोपका झण्डै सबैजसो देशको भाषा अलग छन् ।
कानुन भिन्न छन् । संस्कृति फरक छन् । मानसिकता र संस्कार अलग्गै छन् ।
त्यो बुझ्न नसक्दा पनि धेरै नेपालीले अधिकारबाट वञ्चित हुनुपरेको छ ।
सीपमूलक तालिम, अनुभव र कुनै विषयको दक्षताबिना क्याम्पसको डिग्रीले यहाँ
कुनै काम लाग्दैन भन्ने नजानी धेरै नेपाली यूरोप हाम्फाल्छन् र आखिरमा
होटेलमा भाँडा मस्काउने कामसम्म नपाउँदा निराश बन्छन् । तिनलाई यहाँको
कानून, विधि–विधान सिकाइदिएर सहजीकरण गरि दिने निकायको अभाव छ । हाम्रा
नेपाली दूतावासका कतिपय कर्मचारीहरु तिनलाई सहयोग गर्नेभन्दा पासपोर्ट
हराइदिए घूस लिएर कमाउन पाइन्थ्यो भन्ने दाउमा बसेका पाइन्छन् । दुःखी
नेपालीलाई पासपोर्ट बनाउँदा फेरि ठगेर सास्ती दिएका अनेक घटना छन् । दिनमा
१६–१७ घण्टासम्म खटेर पनि तलब दिने बेलामा साहुले लघार्ने गरेका वा कोहि
बिहान र साँझ खाएकै भरमा काम गर्न बाध्य भएका नेपालीहरुलाई नेपाली
दूतावासका कर्मचारीले नै हेप्ने चलन छ कोही नेपाली उताको ऋण र यताको दुःख खप्न
नसकेर पागल बन्दै सडकमा भौंतारिएका पाइन्छन् । कोही यसै भएन उसै भएन भनेर
ऋण तिर्न नसकेका कारण समाजमा मुख देखाउन नसक्दा नेपालका आफ्ना परिवारलगायत
सबैसित सम्पर्क नै विच्छेद गरेर बसेका छन् । सरकारले कम्तिमा ९ युरो
प्रतिघण्टा पारिश्रमिक तोकेकोमा १२–१३ घण्टा रङ् पोत्ने काम गर्दा पनि
ज्याला पाएका छैनन् ।कतिपयले
दुई–तीन महिनासम्म उधारोमा काम लगाउने र पछि मोबाइल फोनको नम्बर नै बदलेर
भागिदिएर पनि नेपालीलाई ठगेकै छन् । काम गर्ने वैधानिक कागज नहुँदा ती
नेपालीले उजुरी गर्ने ठाउँ पनि छैन । कोहि सानो कोठामा १०–१२ जना कोच्चिएर
बस्न बाध्य छन् । सरकारले भत्काएर बनाउन लागेको खण्डहर भवनमा बिजुली, पानी
जस्ता अति आवश्यकीय सुबिधाबिना नै लुकिछिपी बस्ने पनि पाइन्छन् । कतिपय
नेपालीहरु चिसो भुइँमा काठ ओछ्याउँछन्, थुरुरु काम्दै सुत्छन्, जर्किन
बोकेर सार्वजनिक धारामा जान्छन्, यूरोपको ठण्डीमा चिसै पानीले नुहाउँदा
बिरामी पर्छन् नेपाली महिलाहरुको अवस्था भनिसाध्य छैन ।
नेपालमा छोराछोरी र श्रीमान छोडेर आएका नेपाली चेलीहरु हातमा गतिलो सीप,
काम गर्ने कानूनी इजाजत र भाषाको ज्ञान नहुँदा भारतीय र पाकिस्तानीको घरमा
सरसफाई गर्न पुग्छन् । त्यहीँ उनीहरुमाथि अभद्र व्यवहार हुन्छ । कामको
लोभले ती सहेरै बस्न बाध्य छन् । कतिको यता बस्दाबस्दै उता घरबार बिग्रिएको
छ । दशैं, तिहार, तीज जस्ता चाडपर्व आँशुको भल बगाएर जान्छन् । नेपाल जानु
त आकाशको फल, परिवारसित एक कल फोन गरेर बोली सुन्ने पैसोसम्म कतिपयसित
हुँदैन । यूरोपमा नेपालीहरुले अनेक दुःख, कष्ट र सास्ती भोगेका छन् ।
नेपालीहरुले यहाँ भोगेका सास्ती देखेर आफैं रोएको छु, भक्कानिएको छु यूरोप हानिएका नेपालीहरुमध्ये गतिलो
अवस्था हुनेहरुको संख्या निकै कम छ । तर, त्यसरी दुःख पाउनेहरुले आफूले
पाएको दुःख र वेदनाको कहानी, यूरोपको वास्तविक चित्र नबताइदिँदा अरु धेरै
नेपालीले दुःख पाएका छन् । त्यसैले उता नेपालमा रहेका परिवार मात्रै होइन,
नातागोता र साथीभाइले पनि ‘हामीलाई पनि उतै तान’ भनेर हैरानी दिन्छन् । नगद
सापटी र अनेक उपहार मागेर सास्ति दिने पनि कम हुँदैनन् । यो क्रम जारी नै छ
। त्यसैले यहाँ नेपालीले भोगेका सास्ती रदुःखका कहानी, यूरोपको वास्तविक स्थितिका
बारेमा नेपालीलाई सचेत गराउने मूल उद्देश्यले नै मैले यो पुस्तक लेख्ने
जमर्को गरेको हुँ । मैले यहाँ लेखेका वास्तविकता त नेपालीले भोगेको सिंगो
समुद्रभित्रको एक मुठी पानी मात्रै हो । यस्ता धेरै दर्दनाक कहानी,
चित्कार, दुःख र वेदनाका आँशु यूरोपमा लुकेका छन् । नेपालीहरु यहाँ
बलात्कृत भएका छन्, कुटिएका छन्, थिचिएका र ठगिएका छन् । फलतः निराश, उराठ,
दिग्भ्रमित, दिशाहीन हुनपुगेका नेपाली उत्तिकै छन् । त्यस्ता कहानीहरुको
गहिराइमा पुगेर अझ धेरै पुस्तक लेखिनुपर्छ । धेरै नेपालीले आफ्नो स्तर
उकासेका पनि छन् । सुख पाउने, इज्जत कमाउने नेपाली पनि नभएका होइनन् तर
मेरो उद्देश्य दुःख र पीडाका कहानी खोतल्नु भएकाले मैले यस्तै पुस्तक लेखेँ
यो पुस्तकले यूरोपको वास्तविकता बुझ्न
सहयोग गर्यो र कम्तिमा नेपालबाट घरघडेरी, गरगहना बेचेर यूरोप हाम्फाल्न
खोज्नेलाई एक पटक गहिरिएर सोच्न बाध्य बनाइदियो भने पनि मैले गरेको मेहनत
सार्थक हुने छ । मैले यो पुस्तक–लेखनका क्रममा आफ्नो समय र सीप मात्रै
दिइनँ, थुप्रै जोखिम पनि उठाएँ । यो पुस्तक लेख्दा लाग्ने समय खर्चेर काम
गरेको भए मैले राम्रै पैसा कमाउन सक्ने थिएँ होला । केही नभए पनि यी देश
घुम्दा लागेको खर्च जोगिन्थ्यो । तर, मैले आफ्नो देशका लागि केही गर्न
सकिन्छ कि र त्यसो गर्दा आफ्नो व्यक्तित्व निर्माणमा पनि अवश्य सहयोगी
हुन्छ भन्ने उद्देश्यले यो पुस्तकमा यथाशक्य सामर्थ्य लगाएको छु यूरोपभरिकै नेपालीको अवस्था यस पुस्तकले
झल्काओस् भन्ने उद्देश्य राखेर करीब एक दर्जन देशमा पुगेर नेपालीहरुसित
प्रत्यक्ष भेटघाट र अन्तर्वार्ता गरे पनि यो पुस्तकमा यूरोपका धेरै देशका
नेपालीको कहानी समेटिएको छ । किनकि, एउटै नेपाली तीन–चार देश घुम्दै
हण्डरठक्कर खाँदै भौंतारिएको कहानी पुस्तकमा समेटिएको छ । त्यसैले यो
पुस्तक यूरोपका अधिकांश मुलुकका नेपालीको वेदनाको दस्तावेज हो भन्ने मेरो
विश्वास छ । पुस्तकको वास्तविक मूल्याङ्कन आदरणीय पाठकहरुबाट हुने नै छ ।>
तस्बिर सौजन्य : ददि सापकोटा
No comments:
Post a Comment